नेपालगन्ज । सुनसरी, सिराहालगायत जिल्लामा भएका घटनापछि बाँकेको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सीमा क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुवै देशका सुरक्षा निकायले उच्च सतर्कता अपनाएका हुन्।
दुवै देशका सुरक्षा अधिकारीका अनुसार सीमावारि र सीमापारि कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरिएको छ।
भारतको रुपैडिहा प्रहरी थानाका प्रमुख निरीक्षक हरेन्द्रकुमार मिश्रले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन भारतको एसएसबी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा तालिमप्राप्त कुकुरसहित संयुक्त गस्ती सञ्चालन भइरहेको जानकारी दिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि पछिल्लो समय सीमा नाकामा सुरक्षा व्यवस्था निकै कडा पारिएको र दुवै देशका सुरक्षा निकायबीच निरन्तर समन्वय तथा सहकार्य भइरहेको बताए।
सशस्त्र प्रहरीका अनुसार सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ। साथै, नाकाबाट आवागमन गर्ने व्यक्तिको नाम, ठेगाना तथा अन्य विवरण अभिलेखीकरण गर्ने व्यवस्था पनि लागू गरिएको छ।
भारततर्फ पनि एसएसबीले परिचयपत्र अनिवार्य गर्दै सुरक्षा जाँचमा कडाइ गरेको रुपैडिहा प्रहरी थानाले जनाएको छ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठका अनुसार सीमा नाकामा सुरक्षा कडाइ गरिएपछि अनावश्यक आवतजावतमा कमी आएको छ। उनले खुला सीमाका कारण विगतदेखि नै विभिन्न गैरकानुनी गतिविधि हुँदै आएको उल्लेख गर्दै सुरक्षा निगरानीलाई निरन्तर प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।













