काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी विस्तार र जनतासँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरेको छ।
पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा अभियानका केन्द्रीय प्रतिनिधिसँग सोमबार भर्चुअल बैठक गर्दै एमाले महासचिव शङ्कर पोखरेलले हरेक वर्ग, समुदाय र पेसागत क्षेत्रलाई समेटेर अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
उनले पार्टी र जनताबीचको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उल्लेख गर्दै संगठनात्मक पुनःगठनको कार्यलाई तल्लो तहसम्म विस्तार गरिने बताए।
एमालेले अभियान सफल बनाउन देशभरका सबै पालिका तहमा केन्द्रीय प्रतिनिधि परिचालन गरेको जनाएको छ।
बैठकमा पार्टी सचिव भानुभक्त ढकालले अभियानकै क्रममा सदस्यता नवीकरण अभियानलाई पनि तीव्रता दिइने जानकारी दिँदै निर्धारित समयसीमाभित्र सदस्यता नवीकरण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।













