काठमाडौं। सिरहाको गोलबजारमा साउन १४ गते भएको घटनामा मृत्यु भएका औरही गाउँपालिका–२ मोतिपुरका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच आठबुँदे सहमति भएको छ।
सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। साथै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको छ।
यस्तै, मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनअनुसार कार्यान्वयन गर्ने र स्थानीय सरकारसँग समन्वय गरी मृतकको सम्झनामा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमतिमा उल्लेख छ।उक्त सहमतिपत्रमा मृतकका अभिभावक र गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।














