काठमाडौं । चितवनस्थित बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाईमा केमिकल अभावका कारण प्रयोगशालाले प्रदान गर्ने अधिकांश सेवा एक महिनादेखि बन्द भएको छ।
प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीका अनुसार बजेट अभावका कारण आवश्यक केमिकल खरिद गर्न नसक्दा सेवा प्रभावित भएको हो। उनका अनुसार गत आर्थिक वर्षमा केमिकल खरिदका लागि विनियोजन गरिएको रु १ करोड ३५ लाख बजेटसमेत अपुग भएपछि प्रयोगशालाको सेवा ठप्प हुन पुगेको हो।
कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा बन्द भएपछि प्रयोगशालामा बिरामीको चाप पनि उल्लेखनीय रूपमा घटेको बताए। उनका अनुसार यसअघि दैनिक करिब १३० जना बिरामी परीक्षणका लागि आउने गरे पनि अहिले अत्यन्त न्यून संख्यामा मात्रै सेवाग्राही आउने गरेका छन्।
उनले चितवनसहित आसपासका जिल्लाका नागरिकले यस प्रयोगशालालाई भरपर्दो सरकारी प्रयोगशालाका रूपमा लिँदै आएको उल्लेख गरे।
आर्थिक वर्ष २०८३/८४ का लागि प्रयोगशालालाई रु १ करोड ५ लाख बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट अघिल्लो आर्थिक वर्षको बाँकी दायित्व भुक्तानी गरेपछि मधुमेह, सीबीसी, युरिक एसिड र पिसाब परीक्षणजस्ता अत्यावश्यक सेवामात्र सञ्चालन गर्न सकिने अवस्था रहेको प्रयोगशालाले जनाएको छ।
बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्चस्तरीय सरकारी प्रयोगशाला सञ्चालनका लागि पर्याप्त बजेट र स्रोतसाधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रयोगशालाले गत आर्थिक वर्षमा करिब रु २ करोड राजस्व संकलन गरेको जनाएको छ।












