काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले मनसुन सुरु भएसँगै बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न नेपाल सरकारलाई रुलिङ गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले विपद् पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
सभामुख अर्यालले मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढ्न थालेको उल्लेख गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई उच्च सतर्कतासहित तयारी गर्न निर्देशन दिए।
उनले विपद्का बेला उद्धार तथा राहत कार्यलाई चुस्त बनाउनुका साथै जोखिमयुक्त सडकमा सुरक्षित आवागमन सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे।













