अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ । कम्पनीको महत्त्वाकांक्षी ‘न्यू ग्लेन’ रकेट फ्लोरिडास्थित केप क्यानाभेरलको लन्च प्याडमा बिहीबार परीक्षणका क्रममा विस्फोट भएको छ । घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ ।
कम्पनीका अनुसार ‘हटफायर’ परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो । एक्समार्फत जारी संक्षिप्त वक्तव्यमा कम्पनीले सबै कर्मचारी सुरक्षित रहेको जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब ९८ मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवाँ निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।
न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ । विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताउनुभएको छ ।
उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्किने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ब्लू ओरिजिनका प्रमुख प्रतिस्पर्धी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले पनि दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई अत्यन्त दुर्भाग्यपूर्ण घटना भन्नुभयो ।
फ्लोरिडाका सांसद माइक ह्यारिडोपोलोसले आफू नासाका प्रशासक जारेड आइज्याकम्यानसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिनुभयो । उहाँले कुनै घाइते नभएकोमा राहत व्यक्त गर्दै तत्काल सक्रिय भएका उद्धारकर्मी, इन्जिनियर र प्रक्षेपण टोलीप्रति आभार प्रकट गर्नुभयो ।
नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन् । आइज्याकम्यानले पनि नासालाई घटनाबारे जानकारी रहेको उल्लेख गर्दै अन्तरिक्ष उडान अत्यन्त कठिन र त्रुटिप्रति असहिष्णु क्षेत्र भएको बताउनुभयो । उहाँका अनुसार साझेदार संस्थाहरूसँग मिलेर घटनाको विस्तृत अनुसन्धान, निकट भविष्यका मिसनमाथिको प्रभाव मूल्याङ्कन तथा पुनः प्रक्षेपण तयारीको काम अघि बढाइनेछ ।
ब्लू ओरिजिन यसअघि पनि समस्याबाट गुज्रिएको थियो । गत महिना न्यू ग्लेन रकेटले सञ्चार उपग्रहलाई निर्धारित कक्षामा पुर्याउने अभियान पूरा गर्न सकेको थिएन । यद्यपि कम्पनीले रकेटको बूस्टर पुनः प्राप्ति र पुनः प्रयोगसम्बन्धी परीक्षण सफल भएको दाबी गरेको थियो, तर चालकविहीन अभियानले एएसटी स्पेसमोबाइलको उपग्रह निर्धारित स्थानमा पुर्याउन असफल भएको थियो ।
त्यसपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले कम्पनीलाई दुर्घटना अनुसन्धान गर्न निर्देशन दिएको थियो । कम्पनीका अनुसार सो अनुसन्धान यस महिनाको सुरुमै सम्पन्न भइसकेको छ । मे २२ मा ब्लू ओरिजिनले अत्यधिक तापीय अवस्थाका कारण रकेटको एउटा इन्जिनले अपेक्षित पूर्ण शक्ति उत्पादन गर्न नसक्दा लक्ष्यित कक्षा गुमेको जनाएको थियो ।













