धरान (सुनसरी), २ जेठः
गैरी गाउँको ढोडे ना उखु, भाचौना भाचाँै लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा नाचौना नाचौँ लाग्छ ।।
सानोमा सानो सिक्किमे भाले, कर्दैमा जनले रेटौं ।
दिनैमा भरि रमरसै गयौँ छ महिनामा भेटौँ ।।।
आज बिहानैदेखि साकेला थानमा यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै छ । धरान उपमहानगरपालिका–१३ का करुणा किराती भन्नुहुन्छ, “उभौली साकेला हाम्रो संस्कृतिसँग जोडिएको छ, साकेलाले हामी जस्तो नयाँ युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृतिप्रतिको सम्मानबारे पनि सचेत बनाउँदै आएको छ ।”
त्यसैले साकेलाको समयमा हामी सधैँ झैँ साथीसँग आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको उहाँ सुनाउनुहुन्छ । आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्वहरु हामीले बिर्सिनु हुन्न भन्ने हिसाबले पनि प्रत्येक छ महिनामा मनाइने उभौली र उधौली हामी नाच्ने गरेका छौँ ।
देशभर भूमेस्थानमा पूजा आराधना गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला किराँत राई समुदायले प्रत्येक वर्ष मनाउने गरेको साकेला आज धरान उपमहानगरपालिका–१७ स्थित साकेला पार्कका हर्सोउल्लासका साथ समापन गरिँदैछ । उभौली चाड प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक अर्थात् नेपालका किराँत समुदायभित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध चाडको रुपमा लिइन्छ ।
दौरासुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गरगहनामा सजिएका युवती हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउँभाउ गर्दै नाच्न व्यस्त छन् । अहिले साकेला थानमा युवापुस्ताकै बाक्लो उपस्थिति देखिन्छ ।
साकेला प्रशिक्षक विवेक राई भन्नुहुन्छ, “एक दशकभन्दा बढी भयो साकेला नाच्न सुरु गरेको, हामी सानो हुँदा बाजेले साकेलाको बेला कसरी पूजा गरिन्छ र साकेला कसरी नाचिन्छ भन्ने कुरा सबै सिकाउनु हुन्थ्यो ।”
वैशाख पूर्णिमाका अवसरमा १५ दिनदेखि एक महिनासम्म साकेला उभौली पूर्वका विभिन्न ठाउँमा मनाइन्छ । ढोलझ्याम्टा, हातमा च्याम्बर लिएर साकेला नाच्दै किरात राई समुदायले उभौली चाड समापन गर्दै छन् । बैशाख १८ गते धरान उपमहानगरपालिका १४ विजयपुर स्थितकिरातको विरासत बोकेको हाङ बुद्धिकर्ण राईको दरबारक्षेत्रमा ढोल झ्याम्ता पुकाई पूजाआजा गरी सुरु गरिएको साकेला अहिलेसम्म विभिन्न वडाहरुले २६ भन्दा बढी कार्यक्रहरु सम्पन्न गरिसकेपछि आज किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा वडास्तरीय साकेला सिली प्रदर्शनीसाथै प्रकृति पुच्दै साकेला उभौली समापन गर्न लागिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।
साकेला समापनको अवसरमा सहभागीहरु सांस्कृतिक भेशभूषामा सजिएका छन् । साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । साकेला उभौली, उधौली विशेषगरी नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गर्दै साकेला सिली नाच्ने परम्परा रहिआएको छ । साकेला चाड र साकेला नाचको सुरुआतका विषयमा विभिन्न ठाउँअनुसार फरकफरक मिथक र बूढापाखाहरुको भनाइहरु पाइन्छन् ।
साकेला किराँत राईहरुको पहिचानसँग जोडिएको छ, जसलाई आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान् चाडका रुपमा लिने चलन किराँत समुदायमा रहिआएको छ । यसलाई विशेष अवसर मानेर किराँत राई महिला तथा पुरुष मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ ।
विशेषगरी यसको सुरुआतका विषयमा किराँत समुदायमा ठाउँअनुसार आ–आफ्नै तर्क र भनाइहरू भेटिन्छन् । यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुआत गरेको किंवदन्तीमा उल्लेख भएको भेटिन्छ । पछिल्लो समय साकेला टोलटोलमा र चोकचोकमा नाच्ने प्रचलन उत्तिकै बढेको छ ।
वैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भएपश्चात् चिसो भू–भागतर्फ पनि तातो हुँदै जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिसलगायत गाई बस्तुगोठ पनि माथितिर सार्ने थाल्ने चलन अहिले पनि छ । चिसोयामको सुरुआतसँगै बासस्थान तलतिर सर्ने र तातो मौसम सुरु हुँदा माथि लाग्ने जीवनशैलीको प्रतिनिधित्व तथा सम्झना गराउने यस चाडले मौसमअनुसार तल (उधोँ) वा (उभोँ) बास्थान सर्ने चलन थोरै नै भए पनि नेपालका केही भागमा अझै पनि यथावत् नै रहेको बूढापाखाहरुको भनाइ छ ।
विशेषगरी बाली लगाउनु अघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । मङ्सिर महिनामा उधौली एक दिन मनाइन्छ भने वैशाख पूर्णिमाका दिनदेखि सुरु भएको उभौली झन्डै एक महिनासम्म मनाइन्छ ।
उभौली विशेष गरी तराई वा मधेसतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिँदै जान्छ । यसरी गर्मी बढ्दै जादा वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बूढापाखाको भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस पनि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ । यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदायद्वारा मनाइने यस चाड ‘उभो’ शब्दबाट प्रेरित भएर ‘उभौली’ को नामले चिनिने तथा मनाइने गरिएको भनाइ छ ।
यस दिनलाई किराँत समुदायले सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गरेका छन् । सांस्कृतिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बूलगायत जातिहरूले यस उभौली चाडलाई महान चाडका रुपमा मनाउने गरेका छन् ।
उभौली पर्वलाई किराँत समुदायका जातिहरुले ठाउँ विशेष र आफ्नो बोल्ने भाषाअनुसार फरकफरक नामले चिन्ने गरिन्छ । लिम्बूहरूले ‘चासोक’ वा ‘यक्वा तङनाम’ राई र चाम्लिङजातीले ‘साकेला’ सुनुवारले ‘फोलष्यादर’ बान्तावाहरूले ‘साकेन्वा’ दुमी राईहरुले ‘तोसी’लगायतका इत्यादि नामहरुले उभौली चाडलाई सम्बोधन गर्ने गरेको पाइन्छ । पहाडी भेगमा रामनवमी सुरुभएसँगै साकेला मनाउन सुरु गरिन्छ । टोलटोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिँड्ने चलन रहेको छ । यो चाडमा किराँत राईहरुले पुर्खालाई सम्झेर सिलिमार्फत सम्मान गर्ने गरिन्छ ।
उभौली विशेषगरी धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ ।
साथै राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा भव्य साकेला मनाइन्छ, काठमाडौँका टुँडिखेल, हात्ती वनलगायत स्थानमा पनि साकेला हर्षउल्लासका साथ मनाउने गरिएको छ । चार किराँत (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उधौली मनाउने प्रचलन छ ।













