एक पटक काका साहेब कालेलकर आफ्ना केही साथीहरुसँग विचारविमर्श गरिरहेका थिए । त्यसै वेला उनको सानो छोराले उनको छेउमा आएर भने, ‘बुवा यी मुसलमानले सधैँ हिन्दूलाई मार्छन् । हामी पनि मिलेर यी मुसलमानलाई मारिदिउँ न ?
बच्चाको जिज्ञासा आफ्नो ढङ्गले समाधान गर्दै काका साहेबले भने, ठीक छ, तर हामी शुरुवात कहाँबाट गर्ने ? आऊ इमामबाट शुरु गरौँ ।
यो सुन्नेबित्तिकै बच्चाले भन्यो, ‘हैन बुवा उहाँ त हामीभन्दा ठूलो मानिस हो, उहाँलाई कसरी मार्न सकिन्छ ?
तब काकाले भने, ठीक छ, त्यसो भए अमीनालाई मारिदिऊँ ।
यो कुरा सुनेर बच्चा चिन्तित भयो । भन्यो, हैन हैन, अमीना दिदीलाई कसैले मार्न सक्दैन, उनी मेरी आफ्नै दिदी जस्तै हुन् ।
काकाले केही सोचेर भने, ठीक छ, त्यसो भए छिमेकी हमीदको हत्या गरिदिऊँ ।
बच्चा फेरि करायो, हमीद मेरो साथी हो, म हमीदको हत्या गर्न दिन्नँ ।
तब त्यो सानो बच्चाको ढाड थुमथुम्याउँदै काकाले भने, छोरा, मुसलमान पनि हाम्रा दाजुभाइ हुन् । जसले हिंसा गरिरहेका छन् उनीहरु त न हिन्दू हुन् न मुसलमान । उनीहरु त गुण्डा हुन् र गुण्डाको कुनै नियम या धर्म हुँदैन । जसरी तिमी मुसलमान भाइबहिनीको हत्या सहन सक्दैनौ त्यसरी नै कैयौँ यस्ता मुसलमान छन् जसले हिन्दूको हत्या सहन सक्दैनन्, हामीले सबै धर्मको आदर गर्नुपर्छ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













