कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा दैलेखको महावु गाउँपालिका–३ का नरबहादुर खड्का नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान, २०७२ को धारा १६० बमोजिम खड्कालाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरियोस भनी बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्नुभएको थियो । खड्कालाई प्रदेश प्रमुख परियारले आज मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।
खड्कालाई उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । सर्वोच्च अदालत बार एशोसियसनको सदस्यकारुपमा काम गर्दै आउनुभएका नवनियुक्त मुख्यन्यायाधिवक्ता खड्काले व्यवस्थापन र कानुनमा स्नातकोत्तर तह अध्ययन गर्नुभएको छ ।













