काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी वीरगन्जमा धार्मिक हिंसा भड्काउने षड्यन्त्र सुरक्षा निकायले समयमै विफल पारेको छ । निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना र प्रहरीको सक्रियताका कारण सम्भावित साम्प्रदायिक तनाव टरेको हो ।
बिहीबार राति वीरगन्ज महानगरपालिका–१६ स्थित एक मस्जिदमा सुँगुरको टाउको फालेर धार्मिक सद्भाव बिथोल्ने तथा विस्फोट गराई त्रास सिर्जना गर्ने योजना बनाइरहेको समूहलाई सुरक्षा फौजले नियन्त्रणमा लिएको जनाएको छ । विशेष सूचनाका आधारमा उपसेनानी विकास मरहट्टाको कमाण्डमा खटिएको टोलीले छप्कैया चोक आसपास सूक्ष्म निगरानी बढाएको थियो ।
मध्यरात साढे १२ बजेदेखि साढे २ बजेसम्म सञ्चालन गरिएको अपरेशनका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज–१६ का १६ वर्षीय कृष्ण यादव, इनरुवाका १८ वर्षीय रोहित पटेल र १६ वर्षीय अवजित यादव रहेका छन् ।
सुरक्षा स्रोतका अनुसार उनीहरूले मस्जिद परिसरमा सुँगुरको टाउको फालेर दुई समुदायबीच तनाव उत्पन्न गराउने र त्यसलाई आधार बनाएर निर्वाचन प्रक्रिया अवरुद्ध गर्ने योजना बनाएका थिए । समयमै सूचना प्राप्त भई हस्तक्षेप गरिएकाले ठूलो दुर्घटना र सम्भावित दङ्गाबाट जोगिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ९ थान सुतली बम, मोबाइल फोन, पावर बैंक, चार्जर, सेतो रङको विद्युतीय तार तथा धार्मिक भावना भड्काउन प्रयोग गर्न खोजिएको सुँगुरको टाउको बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ ।













