नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको वार्तापछि आगामी चुनावको नयाँ समीकरणको निधो गरिने बताइएको छ।
आइतबार एमाले मुख्यालय च्यासलमा ओली र प्रचण्डको वार्ता हुने नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले जानकारी दिएको बताइन्छ।
दुवैको भेटपछि नेपाली कांग्रेससहितको गठबन्धन गरी चुनावी भागवन्डा मिलाउने विषयमा कुराकानी हुने बताइएको छ। रास्वपासँग लड्न सक्ने अवस्था नरहेका कारण तीन दल मिल्नुको विकल्प नभएको भन्दै यस्तो पहलको अभ्यास थालिएको थियो।
पहिलो चरणमा राष्ट्रिय सभाको निर्वाचनमा मिल्ने र २१ फागुनको प्रतिनिधि सभाको निर्वाचनमा पनि तीन दलीय गठबन्धन बाउने तयारी रहेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। रिक्त १९ स्थानमध्ये १८ सिटका लागि चुनाव हुने छ भने एक स्थान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा हो।
यसबाहेक प्रतिनिधि सभाको १६५ सिटमा पनि भागवन्डाको तयारी भएको बताइन्छ। प्रारम्भिक चरणमा कांग्रेस–एमालेले ७०–७० र नेपाली कम्युनिस्ट पार्टीलाई २५ सिट दिनेगरी कुराकानी गरी मिलनविन्दु खोजीने तयारी भएको उच्च स्रोतले भन्यो।
स्रोतले भन्यो,‘यसमा प्रचण्डले पार्टीलाई सहमति गराएको खण्डमा तीन दलीय गठबन्धन बन्नेछ।’













