काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रस्तावित स्वास्थ्यमन्त्री डा. संगीता कौशल मिश्रको नाम मन्त्री बन्ने सूचीबाट हटाएकी छन्। । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका कारण मिश्रको नाम काटिएको हो। प्रधानमन्त्री कार्कीले आइतबार पाँच जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाउनु भएको थियो, जसमा मिश्रको नाम पनि समावेश थियो।
मन्त्रिपरिषद् स्रोतका अनुसार, “हिजोको सूची सच्याएर आज पुन: चार मन्त्रीकाे नाम मात्र पठाइएको छ। मिश्रको नाम हटाइएको छ।” यस निर्णयसँगै आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल र शिक्षामन्त्री महावीर पुनले मात्र शपथ लिने भएका छन्।
स्वास्थ्य मन्त्रालयको पद हाललाई रिक्त राखिएको छ। स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी डा. मिश्र नागरिकता र अनियमितता विवादमा तानिएकी थिइन्।
यसअघि, प्रधानमन्त्री कार्कीको अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा शपथ लिइसकेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्ति गरेका हुन्। त्यसलगत्तै संसद् विघटन गरी आगामी फागुन २१ का लागि प्रतिनिधि सभा सदस्य निर्वाचन पनि घोषणा भइसकेको छ। प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारको मुख्य जिम्मेवारी ६ महिनाभित्र उक्त निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु रहेको छ।













