चितवन। आन्तरिक राजस्व कार्यालयले नयाँ करदातालाई आयकर, अन्तशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी जानकारी दिन थालेको छ । चालु आर्थिक वर्ष सुरु भएपछि कार्यालयमा दर्ता भएका व्यवसायीलाई लक्षित गरी कर शिक्षा कार्यक्रम सुरु गरिएको हो ।
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले आर्थिक ऐन २०८२ मा भएका व्यवस्थाबारे करदातालाई जानकारी दिइएको बताए । उनका अनुसार बिलबिजकको प्रयोग, कर पोर्टल सञ्चालन र कर प्रणालीसम्बन्धी आवश्यक सीप व्यवसायीलाई सिकाइएको छ ।
गत आर्थिक वर्षमा दुई हजार ३२५ व्यवसाय कार्यालयमा दर्ता भएका थिए भने चालु आवको पहिलो महिनामै ३५७ नयाँ व्यवसाय दर्ता भएका छन् । यस अवधिमा रु १५ लाख ३३ हजार ९११ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयमार्फत रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार राजस्व सङ्कलन भएको थियो ।













