पोखरा, ४ मंसिर । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आइतबार कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कास्कीका एक सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रबाट ६० प्रतिशत मत खसेको जानकारी प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले दिनुभयो । वि.स. २०७४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कास्कीबाट ६७ प्रतिशत मत खसेको थियो भने यसपटक सात प्रतिशतले घटेको छ ।
गत स्थानीय निर्वाचनमा कास्कीमा ७८ प्रतिशत मत खसेको थियो । कास्कीका तीन निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या २ लाख ९१ हजार ५ सय ६८ रहेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले कास्कीका ३ सय ४४ वटै मतदान केन्द्रमा कुनै अप्रिय घटना नभएको जानकारी दिनुभयो । मतदान सम्पन्नसँगै मतदान स्थलबाट मतपेटीका कास्की सदरमुकाम पोखरा ल्याउने काम भइरहेको केसीले जानकारी दिनुभयो ।
कास्कीमा सबैभन्दा टाढा रहेको घान्द्रुकको छुम्रुरुङ मतदान स्थलबाट ६ घण्टाको समयमा मतपेटीका पोखरा आइपुग्ने जानकारी उहाँले दिनुभयो । मौसम राम्रो भएका कारण मतपेटिका ल्याउन बाटोमा कुनै समस्या नभएको जानकारी पनि उहाँले दिनुभयो । यस पटकको चुनावमा कास्कीका मतदाताको उत्साहजनक सहभागिता देखिएको छैन ।
यस पटकको निर्वाचनमा कास्कीका तीन निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तर्फ ४६ र प्रदेश सभा सदस्य तर्फ ४५ उम्मेदवार सहभागी भएका छन् । आज मतपत्र संकलनसँगै भोलि (सोमबार) बिहान सर्वदलीय बैठक राखेर मतगणना सुरु गरिने जानकारी निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले दिनुभयो ।














