काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूचीमा एकलौटी गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी मुख्यालाय सानेपामा धर्ना दिएको छ ।
समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।
कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ । इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ ।
समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ । धर्नामा शेखर पक्षका दोस्रो तहका नेताहरू सहभागी छन् ।
धर्नामा संस्थापनविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका गुरुराज घिमिरेदेखि जगदिश्वरनरसिंह केसीसमेत सहभागी छन् । शीर्ष नेताहरू बालुवाटारमा देउवासँग वार्ता गरिरहेका छन् ।
यसअघि मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । त्यस क्रममा पार्टीमा देखिएको विवादको विषयमा छलफल भएको बताइएको छ ।
मंसिरमा हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषयलाई लिएर पछिल्लो समय नेपाली कांग्रेसभित्र विवाद बढ्दै गरेको छ । शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् । यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।
इतर समूहले प्रदेश १ को समानुपातिक सूची पनि सच्याउनुपर्ने अडान राखेको छ । प्रदेशमा पनि अधिकांश देउवा पक्षका नेताहरु समेटिएपछि कोइराला पक्षले यदि नसच्याए आगामी निर्वाचनमा असहयोग गर्ने चेतावनी दिइसकेको छ ।













