पोखरा, २ मंसिर । कोरोनाका कारण दुई वर्षदेखि रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्षदेखि संचालनमा ल्याइने भएको छ । पोखरा उद्योग वाणिज्य संघको नियमित कार्यक्रमको रुपमा प्रत्येक वर्ष संचालन हँुदै आएको उक्त मेला मंसिर १६–२५ गतेसम्म संचालनमा ल्याउन लागिएको हो । संघद्धारा शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उक्त मेला संचालनमा ल्याउन लागिएको जानकारी संघका अध्यक्ष पवनकुमार प्रजापतिले दिए ।
कोरोनाको त्रास कम भई जनजीवन लयमा फर्केसँगै पर्दशनी केन्द्र नयाँबजार पोखरामा मेला आयोजना गर्न लागिएको जनकारी अध्यक्ष प्रजापतिले दिए । ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्घोषसहित मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २ सय ५१ सदस्यीय मूल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन गरिएको छ ।
पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमासमेत सघाउ पु¥याउने उद्देश्यले गर्न लागिएको मेलामा २५० स्टल रहने बताइएको छ । मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समर्पित रहेको सो अवसरमा वताइएको छ । मेलामा आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहने जनाइएको छ ।
मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि एक सय १ रुपैयाँ र विद्यार्थीको लागि ६० रुपैयाँ कायम गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । मेलाबाट अनुमानित आम्दानी १ करोड रुपैयाँ र खर्च ८५ लाख कटाउँदा वाँकी १५ लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने पनि सो अवसरमा दिइएको छ । पोखरामा आयोजना हुने यो मेला नाफामूलक मात्र नभइ यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको पनि पत्रकार सम्मेलनमा वताइएको छ ।













