प्राचीन कालमा हाम्रा पूर्वजले कुकुर पाल्न सुरु गर्नुअघि फ्याउरा पाल्ने गर्दथे। फ्याउराले पनि कुकुरले जस्तै सुरक्षा दिने गर्थे। खेतीपातीको युगअघि प्राचीन मानिस जङ्गली अवस्थामा थिए। उनीहरूले शिकार, जङ्गली फलफूल र कन्दमूल खाने गर्दथे र त्यही शिकार फ्याउरालाई दिएर पाल्ने गरेको प्रमाण फेला परेको छ।
दक्षिण अमेरिकामा यसको पुरातात्त्विक प्रमाण भेटिएको छ। त्यहाँ प्राचीन समाजमा फ्याउरालाई निकै पवित्र मान्ने गरिएको अनि मृत्यु भएपछि मानिस र फ्याउरालाई नजिकै गाड्ने गरिएको थाहा भएको छ।
अर्जेन्टिनाको पाटागोनिआमा १५ सय वर्ष पुरानो चिहानमा एउटा फ्याउरो पनि गाडिएको फेला पर्दा वैज्ञानिकहरू आश्चर्यचकित भएका थि । त्यो फ्याउरो मानिसको ‘प्यारो साथी’ वा आफूले पालेको जनावर भएकाले त्यसो गरिएको विश्लेषण गरिएको छ।
त्यसको डिएनए विश्लेषण गर्दा फ्याउरोले प्रागऐतिहासिक शिकारीहरूसँगै आहारा खाने गरेको र उनीहरूको समूहमै बस्ने गरेको पत्ता लाग्यो।
‘खानेकुराका लागि शिकार र सङ्ग्रह गर्ने मानिसहरूको समूहसँग फ्याउरोको निकट सम्बन्ध भएको देखिने यो निकै दुर्लभ प्रमाण हो,’ युनिभर्सिटी अफ अक्सफोर्डका डाक्टर ओफेली लेब्रासरले भनेकी छन्।
‘डुसिक्योन एभस’ प्रजातिको त्यो फ्याउरो मध्यम आकारको र १०–१५ केजी तौलको हुने विश्वास गरिएको छ तर पाटागोनिआमा घरपालुवा कुकुर आइपुगेको केही सय वर्षपछि अर्थात् आजभन्दा झन्डै पाँच सय वर्षअघि त्यो प्रजाति मासियो। एक दशकअघि अर्जेन्टिनाको अर्को भागमा अझ पुरानो चिहानमा सोही प्रजातिको फ्याउरोको कङ्काल फेला परेको थियो। दक्षिण अमेरिकामा अहिले पनि १० प्रजातिका फ्याउरा छन्।