अचेलका केटाकेटीहरुमा फस्टाउँदै गएको एउटा गम्भीर समस्या पढ्न मन नलाग्ने र अधिक चञ्चल हुने प्रवृत्ति हो । कतिपय शोधअध्ययनले प्रष्ट पारेका छन् कि यस किसिमको प्रवृत्ति दिनानुदिन वृद्धि हुनुको एउटा जल्दोबल्दो कारण खुल्ला र बजारे जङ्कफुड तथा फास्टफुडको जथाभावी प्रयोग पनि हो । भनिन्छ, यदि कुनै बच्चा प्रत्येक दिन कुनै न कुनै फास्टफुड खाने गर्छ भने त्यसबाट उसको पेटमा अत्यधिक फ्याट, सोडियम क्लोराइड र सुगरको मात्रा बढ्न जान्छ । यसरी चिल्लोको मात्रा जति जति बढ्दै जान्छ, त्यति नै उसलाई कुनै कुरामा एकाग्र हुन कठिन हुन थाल्दछ । अन्ततः उसको मन पढ्नबाट हटेर निदाउनपट्टि जान्छ ।
फलस्वरुप उसको शरीरभित्र अक्सिजनको पूर्ति पनि घट्दै जान्छ र अत्यावश्यक प्रोटिन र सूक्ष्म पोषक तत्वहरुको पनि कमी हुन थाल्दछ । यस्तो स्थिति दोहोरिँदै गरएको खण्डमा क्रमशः त्यस्ता केटाकेटीको मस्तिष्क शिथिल र सिर्जनहीन बन्न पुग्दछ । प्रायःजसो बालबालिका खेल्ने, टिभी हेर्ने, चकचक गर्ने र पढ्नेलेख्ने ध्याउन्नमा लागिरहने हुनाले तिनले यस किसिमको प्रतिकूलतालाई त्यति सारो ख्याल राख्दैनन् । साथै, तिनका अभिभावकहरु पनि त्यस्तो परिवर्तनप्रति सचेत हुँदैनन् । तर, यथार्थमा जङ्कफुडको निरन्तर सेवनले तिनको मानसिक क्षमतालाई क्षीण गर्ने र शरीरलाई अल्छी बनाउने काम भित्रभित्रै गरिनै रहेको हुन्छ । त्यसैले आफ्ना केटाकेटीलाई भविष्यमा बुद्धिमान् बनाउने हो भने जहिले पायो तहिले बजारिया जङ्कफुडहरु खान दिनुहुँदैन ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट